विजयपुरको राजगद्दी बुद्धिकर्ण खेवाहाँङले हत्याएको आधा दशक नबित्दिै गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवान माथि आक्रमण गर्ने निश्चित भयो । ति गोर्खालीहरु बिरुद्ध लड्न शक्तिशालि सेना चाहिने भएकोले बहादुर, लडाकु र परिवार भित्रकै नातेदार काकालाई विश्वासगरी काङसोरेलाई सेनानी अर्थात युद्धलड्ने मुख्य जिम्मेवारी राजा बुद्धिकर्णले दिए ।
खम्बुवान र गोर्खाली फौज बीच युद्ध चलिरहेको बेला अरुण पूर्वको लिम्बुवानी सेनाहरुले युद्धका लागि राम्रो तयारी गरिसकेका थिए । अरुण नदी तरेर लडाई गर्नु सजिलो कुरा थिएन । सभा दोभान हुदै चतरा तर्फ बग्ने अरुण नदी सिमाना रहेको विभिन्न गौंडामा धेरै युद्धहरु भए । काङसोरे आफैले नेतृत्व गरेको लिम्बुवानी सेनाहरुले १७ वटा भन्दा बढि युद्धहरुमा विजय प्राप्त गदै गए ।
उनीहरुले चैनपुर हुँदै तुम्जासम्म गोर्खालीलाई लखेटेको इतिहास हज्सनले संकलन गरेको पाण्डुलिपीमा उल्लेख छ । त्यतिमात्र नभएर काङसोरेको नेतृत्वमा आठ दिनको बाटोसम्म गोखालीलाई लखेटे । उनीहरुले गोर्खाली सेनाहरुलाई ध्वस्त बनाए । अर्कोपटक पृथ्वीनारायण शाहले मंगोल मुलकै सेनानी रघु रानाको नेतृत्वमा आक्रमण गर्न पठाए । पुनः गोर्खाली सेनाहरुले युद्ध जित्न सकेन्न र अन्ततः अब दुवैतर्फका सेनानी÷सेनापति मात्र तरबार र ढाल चलाई युद्ध लड्ने जसले जित्छ उसैको पक्षको विजय घोषणा गर्ने भनी सहमति गरे ।

सेनापति काङसोरे सर्त अनुसार हात हतियार राखेर सेनाहरुको साथ युद्धस्थलमा पुगे । दुई सेनापति बीच युद्ध शुरु भयो । दैवीशक्ती समेत भएका काङसोरेले गोर्खाली सेनापति रघु रानालाई तरबारले काटेर मारिदिए । त्यसपछि छलकपट गर्न सिपालु गोर्खाली सेनाहरुले माटोमा गाडेर राखेको बन्दुकहरु झिकेर सेनापति काङसोरे लगायतलाई मारिदिए । त्यसपछि युद्धस्थल नजिकै गन्धेपानीमा दुवै सेनापतिको शवलाई ठूलो सम्मानको साथ अन्त्येष्ठि गरि चौतारा बनाई दिए । अहिले पनि उक्त समाधिस्थल प्रमाणको रुपमा देख्न सकिन्छ । दुवै सेनापतिको समाधिस्थल आमनेंसामुन्ने राखिएको छ । सेनापति काङसोरेको बलिदानीपूर्ण दुखद निधन पछि दोस्रो सेनापतिको जिम्मेवारी मुदिम्बा खेवाहाङले पाएका थिए । उनी लिम्बू–गोर्खालीबीचको बराह क्षेत्रमा भएको घनघोर युद्धमा उनको पनि निधन भएको थियो ।
गोर्खाली र लिम्बुवान बीच विभिन्न गौडामा धेरै पटक युद्धहरु भए । ती युद्धहरु मध्ये धेरै युद्धहरुको नेतृत्व सेनानी काङसोरे आफैले गरेका थिए । लिम्बुवान संगको युद्धमा गोर्खालीहरुले धेरै गुमाए तर विजय गर्न सकेन्न र अन्ततः कुटनैतिक सम्बन्ध जोडे । लिम्बुवानले आफ्नै मुद्रा, आफ्नै कानुन उपभोग गर्न पाउने गरि राजधानी बिजपुर, धरानमा वि.स. १८३१ मा नुनपानीको किरिया खाई गोर्खालीहरु संग सम्झौता भयो । स्वायत्त लिम्बुवान राज्यको दुत वि. स. १९४५ सम्म काठमाडौमा रहने गर्दथ्यो ।
वि.स. २०५५ मा प्रकाशित मानव उत्पति र खेवा वंश पुस्तक अनुसार सेनापति काङसोरे खेवाहाङ वि. स. १८०० मा छथर थुमका हाँङ कमराय खेवाहाँङको जेष्ठ पुत्रको रुपमा तेह्रथुम, छथर सुदापको खेवाहाँङ यक ताकलुङमा जन्मिएका थिए । काङसोरेमा नाममा रहेको जग्गाधनीपूर्जा अहिले पनि प्रमाणको रुपमा पाइन्छ । तत्कालिन राज (हाङ) पविारमा जन्मिएका उनी सानै देखि समाज र भूमिलाई औधि माया गर्दथे । शिकार खेल्नु र तरबार खेलाउनु उनको रुची थियो । भतिजा बुद्धिकर्ण विजयपुरको राजा बन्नुमा पनि उनको साथ रहेको अनुमान छ ।
लिम्बुवान भूमिको रक्षा र जनताको लागि लड्दालड्दै सेनापति काङसोरेले अन्ततः २५ बैशाख १८३१ का दिन युद्धमा वीरगति प्राप्त गरे । उनका सन्तानहरु अहिले सभा दोभानबाट नजिकै लेगुवा र छथर हात्तिखर्कमा पनि बसोबास गर्दै आएका छन् । यता सभा दोभानको पारि भोजपुरमा समेत केहीघर खेवाहाङहरु बसोबास गर्दै आएका छन् । यो इलाका खेवाहरुको पश्चिम सिमाना हो । किनकी इतिहासमा खेवाहरुले पश्चिम दुधकोसीसम्म शासन गरेको कुरा इमानसिं चेम्जोङ र विद्ववान डा. हर्क गुरुङले उनीहरुको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । विशेष गरेर सेनकालमा लोहाङ सेनले आफ्नो प्रान्त विभाजन गर्ने क्रममा अरुण सिमाना बनाएपछि खेवाहाङहरुको पश्चिमी सिमाना अरुण भयो । लिम्वुवानभूमिको रक्षार्थ अतुलनीय योगदान गरेका सेनापति काङसोरे खेवाहाँङ (काङसो राय), दोस्रो सेनापति मुदिम्बा खेवाहाङ, सेनानी साङबोतरे र तेसाक्पा आदी हामी सबैको लागि प्रेरणाका स्रोत हुन् ।
सेनापति काङसोरेको सम्झनामा छथर तिरका लिम्बूहरुले काङसोवा मेला लगाएका थिए । छथरको तेलिया खोलाको पुच्छार जहाँ काङसोवा मेला वि.सं. २०५८ सालसम्म लाग्दथ्यो यसलाई आज पनि काङसोवा खोला भन्ने गरिन्छ । माथिल्लो पट्टि तेलिया खोला भनिनुपूर्व उक्त खोलामा काङसोरेले शिकार खेल्ने तथा युद्ध अभ्यास गर्ने भएकोले यो पुरै खोलालाई काङसोवा खोला भनिन्थ्यो । पछाडि खामनेरा गाउँलाई तेलिया गाविस नै बनाइयो । यो खोलालाई वि.सं. १८७५ मा तिलेश्वर महादेवको मन्दिर निर्माण पश्चात ‘तेलीया खोला’ नामाङकरण गरियो ।
वीर लिम्बुवानी सेनापति काङसोरेलाई सहयोग गर्नका लागि ताक्लुङबाट सेना जाँदैगर्दा हमरजुंङ्घ र आङदिम गाविसको सिमाना मानिने एक खोलामा पुग्दा ति सेनाले काङसोरे मारिएको खबर पाएका थिए । कुनदिन काङसोरे मारियो भन्दा ‘लावा पमबम ऐन’ यसको नेपाली अर्थ आकाशमा जुन टहटह लागेको दिन भन्ने हुने भएकोले सो खोलाको नामाङ्करण पनि पमबम खोला नै गरिएको उक्ति पाइन्छ । उक्त खोला अmभैm पमबम खोलाकै नामले चिनिन्छ ।
बहादुर सेनापति काङसोरेको संम्झनामा खोलाको नामाकरण ‘काङसोवा’ र मेला समेत ‘काङसोवा’ नै लगाइएको छ । काङसोवा मेला लाग्ने स्थानको ठिक पारिपट्टि हाङसामोरङ पर्दछ र चौविस पट्टि हाङसामोरङमा कैलाश शिवको मन्दिर स्थापना गरी शिवरात्री मेला लाग्ने गर्दछ । तत्कालिन युद्ध सरदारहरु मध्ये सेनानी काङ्सोरेको मुख्ययोगदानलाई सम्मानगरि सेनापति भन्ने गरिएको छ । गोर्खा र लिम्बुवान बीच सहमति भएपनि निरन्तर १७ बर्ष (१८३१–१८४७) सम्म निरन्तर युद्ध चलेको पाइन्छ । इतिहासमा कहिल्लै नहारेका लिम्बुवानी सेना र नेतृत्वहरु काङसोरे, साङबोतरे, तेसाक्पा, सिपा, फाक्ते, मुदिम्बा आदिलाई ठूलो सम्मान गर्दै आत्मा गौरवका साथ लिम्बुवानवासीहरु सम्झिरहन्छन् ।
स्रोतः
१. समकालिन विजयपुरको संक्षिप्त इतिहास, इमानसिंह चेम्जोङ, पेज १११, ९२ ।
२. दिब्यमेरु मानस समाज, क्या. गोपीलाल लिम्बु, पेज ४५ ।
३. मानव उत्पति र खेवा वंश, खेवा लिम्बु परिवार, पेज ४९ ।
४. शृखला, साहित्यकार लोकेन्द्र तिगेला, पेज ८६ ।
५. नेपालीसमाचारडटकम ।
६. नेपालीलिटरेचरडटकम ।
७. संघीय, मासिक ।
८. बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान ।
९. ह्यामिल्टन, एन एकाउण्ट अफ दि किङडम आफ नेपाल ।
१०. मुुन्धुमविद भरत तुङ्घङ र पत्रकार भैरव आङ्लाका अनुसार ।
११. लामिछाने, टिका प्रसाद पुर्वाञ्चलमा धनकुटा, प्रकाशक ः पल्लभ साहित्य प्रतिष्ठान, नारायणघाट चितवन २०६८, मुद्रण ः गजरमुखी अफसेट प्रेस विराटनगर ।
Leave a Reply